काठमाडाैं । औषधि व्यवसायीहरुले औषधि व्यवसायीहरुलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन् । शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले यस्तो माग राखेका हुन् ।
कायक्रममा बोल्दै वागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधि पसलहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताउनु भयो ।
उहाँले बीमामा औषधि व्यवसायीहरुलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो । अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीमा इन्स्योरेन्सको समस्या धेरै बढेको छ । इन्स्योरेन्सको कारणले गर्दा हाम्रो व्यवसायीहरुको पसल बन्द गर्नुपर्ने अवस्था आइसकेको छ । हामी सबै नेपालीहरु यो इन्स्योरेन्समा जोडिनुपर्छ । सरकार उपस्थित नभएको ठाउँमा हामी व्यवसायीले सेवा दिइरहेका छौँ, सरकारको पनि उद्देश्य भनेको पीपीएम छ भने इन्स्योरेन्सको पोलिसीमा हामी औषधि व्यवसायीहरुलाई किन संलग्न गराउन नसक्ने ? बीमा समितिसँग वा अरु मन्त्रालयसँग कुरा गर्ने हो की त्यससँग लविङ गरेर औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा हाम्रो औषधि पसल बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछ । औषधि व्यवसायीहरुलाई पनि इन्स्योरेन्समा सहभागी गराइयोस्, हाम्रो व्यवसाय सुरक्षित गरियोस् ।’
कार्यक्रममा औषधि व्यवसायी डा. सन्तोष केसीले नेपालमा औषधि फार्मेसीहरुलाई घटाइ व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उहाँले औषधि पसलहरु नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्ने बताउनु भयो ।