तनाव व्यवस्थापनका लागि ‘ओशो महोत्सव’

काठमाडाैं । सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू ।

समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग (डिप्रेसन)को अवस्थामा पुग्दैछ । पहिले कोरोना महामारी र त्यसपछि सिर्जित आर्थिक मन्दीका कारण कैयौँ उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन् । यसबाट बेरोजगार हुन पुगेका लाखौँ मानिसको मानसिक स्वास्थ्यमा असर परेको विभिन्न अध्ययनले देखाएका छन् ।

नेपालमा पनि आर्थिक सङ्कट दिनप्रतिदिन बढ्दो छ, सेयर बजार झन्भन्दा झन् खस्कँदै छ । मानिसका लागि अवसर खुम्चिँदै छन् । स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा दिनहुँ हजारौँ युवायुवती विदेशिएका छन् । देशका अधिकांश क्षेत्र, पेसा या व्यवसायमा पनि सकारात्मक सञ्चार प्रवाह हुनसकेको छैन । यी विविध कारणले गर्दा मानिसमा निराशामात्र थपिँदै छ ।

यस्तो निराशा, कुण्ठा, असन्तुष्टि या डिप्रेसनउन्मुख अवस्थाको निदानका लागि ध्यान, साधनालाई उत्तम उपाय मानिएको छ । योग र ध्यान क्षेत्रका साधकहरूले मानिसमा यस्तो नैराश्यता हटाएर मानसिक स्वास्थ्यमा सुधार ल्याउन ध्यान र साधनाले औषधिको काम गर्ने सिफारिस गर्दछन् ।

नेपाली समाजमा पनि पछिल्लो समय युवा या विभिन्न उमेर समूहका मानिसमा पद, प्रतिष्ठा र सफलता प्राप्तिको आकाङ्क्षा बढ्दो देखिन्छ । तर आफूअनुकूलको वातावरण सिर्जना हुन नसक्दा उनीहरूमा निराशा बढ्दो छ । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सक या यस क्षेत्रका जानकारहरू ध्यान, योग, साधना गर्न सुझाउँछन् । मानिसको दिमागबाट डिप्रेसन र नैराश्यता हटाई उसमा आशावादिता जगाउन र सकारात्मक सोचको विकास गरी सुरक्षित र खुसी जीवनयापन गर्न उनीहरू ध्यान गर्न सुझाउने गरेका छन् ।

यही प्रयोजनका लागि अर्थात् मानिसमा पछिल्लो समय विकसित तनाव तथा नैराश्यताको व्यवस्थापन गर्न नयाँ वर्षको पहिलो दिन भोलि विसं २०८० वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरिएको छ । शुक्रबार बिहान ९ देखि राति ९ बजेसम्म आयोजित सो महोत्सवमा सबैलाई खुला आमन्त्रण पनि गरिएको छ ।

सो महोत्सवका प्रमुख संयोजक भवन भट्टले नेपाललाई समृद्ध र अध्यात्मिक बनाउने स्वामी आनन्द अरुणको चाहनाबमोजिम ओशो तपोवनको आयोजनामा गत वैशाख १ देखि हरेक नयाँ वर्षको पहिलो दिन ओशो महोत्सव शुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले नेपाली समाजमा विविध कारणले विशेषगरी युवा वर्ग या विभिन्न पेसा व्यवसायका मानिसमा व्याप्त तनाव, नैराश्यता एवं प्रतिदिन बढ्दो डिप्रेसनको व्यवस्थापन गरी हरेक मानिसमा आध्यात्मिक चिन्तनको विकास गरेर उनीहरूलाई योग र ध्यानतर्फ आकर्षित गर्न यो महोत्सवको आयोजना गरिएको हो ।”

यसै वर्षको अर्थात् विसं २०७९ को वैशाख १ गते पनि टुँडिखेलमा नै कम्तीमा १० हजार जना मानिस जम्मा गर्ने उद्देश्य राखेर आयोजना गरिएको महोत्सवमा १२ हजार जनाको सहभागिता रहेको र त्यहाँ आएका कतिपय व्यक्ति पछि ओशो तपोवनमा पनि आइरहेकाले यस वर्ष कम्तीमा पनि ५० हजार जना मानिस जम्मा गर्ने महोत्सवको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *