काठमाडौं । भ्रष्टाचार मुद्दामा अब ५ वर्षे हदम्याद लागू हुनेभएको छ । भ्रष्टाचार मुद्दा दर्तामा ५ वर्षे हदम्याद राष्ट्रियसभाबाट पाारित भएको छ ।
राष्ट्रियसभाबाट पारित भ्रष्टाचार नियन्त्रण सम्बन्धी २ विधेयकमा हद म्यादको व्यवस्था थपिएको छ । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था राखिएको हो ।
विधेयकमा उल्लेख गरिएको प्रावधान अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा चल्नेछैन । विधेयकमा सार्वजनिक सम्पत्ति हानीनोक्सानीको भ्रष्टाचारमा भने हदम्याद नलाग्ने उल्लेख छ । प्रावधानमा हदम्यादको अवधि ‘जानकारी भएको मितिले’ ४ वर्षको हुने भनिएको छ ।
२०४९ सालमा जारी भएको ‘भ्रष्टाचार निवारण ऐन २०४९’मा भ्रष्टाचारको आरोपमा मुद्दा चलाउन हदम्यादको व्यवस्था थिएन । प्रचलित ऐनको दफा ४५ मा अवकाश प्राप्त व्यक्ति उपर जुनसुकै बेला मुद्दा चलाउन सकिने व्यवस्था छ ।
प्रावधानमा भनिएको छ ‘कुनै राष्ट्र सेवकले आफू कुनै पदमा बहाल रहेको अवस्थामा सरकारी वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाको सम्पत्ति हिनामिना वा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धमा त्यस्तो व्यक्तिले आफ्नो पदबाट अवकाश प्राप्त गरेपछि पनि निज उपर मुद्दा चलाउन यस ऐनमा लेखिएको कुनै कुराले वाधा पु¥याएको मानिने छैन ।’
तर राष्ट्रियसभाबाट अहिले पारित विधेयकमा त्यसबारे केही संशोधान गरिएको हो । अहिले पारित विधेयकमा अवकाश वा पदबाट हटेपछि मात्रै भ्रष्टाचार कसूरमा मुद्दा चल्न सक्ने राष्ट्रसेवक उपर ५ वर्षभित्र मुद्दा चलिसक्नुपर्ने समयावधि (हदम्याद) किटान गरेको हो ।
राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा गएको भ्रष्टाचार निवारणसम्बन्धी विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधि सम्बन्धी व्यवस्था छ । त्यसमा भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले ५ वर्ष हुनेछ ।’
५ वर्षे हदम्यादबारे त्यही दफामा थप लेखिएको छ, ‘‘ कुनै राष्ट्रसेवकले पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र तत्काल निजउपर मुद्दा चल्न सक्ने रहेनछ भने निज जुनसुकै व्यहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाश भएको मिति र निजले भ्रष्टाचार गरेको कुरा निज अवकाश भइसकेपछि थाहा भएकोमा थाहा भएको मितिले ५ वर्षभित्र मुद्दा चलाउन सकिनेछ ।’
सम्पत्ति हिनामिना सम्बन्धी कसूरमा भने हदम्याद राखिएको छैन् । त्यसमा भनिएको छ, ‘‘सरकारी, सामुदायिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन कुनै हदम्याद लाग्ने छैन ।’
नयाँ ी प्रावधान अनुसार, सार्वजनिक पदमा रहेका व्यक्तिहरुमाथि जुनसुकै बेला भ्रष्टाचारको मुद्दा चल्नेछ । तर पदमा बहाल रहेका र अख्तियारले हेर्न नसक्ने पदाधिकारीहरुको हकमा उनीहरुको अवकाशपछि मुद्दा चल्नेछ ।
महाभियोगबाट पदमुक्त हुने राष्ट्रपति, उपराष्ट्रपति, संवैधानिक अंगका प्रमुख एवं पदाधिकारीहरु अनि सैनिक ऐनबाट निर्देशित हुने नेपाली सेनाका पदाधिकारीमाथि पदबाट अवकाशपछि मात्रै भ्रष्टाचार मुद्दा चल्नेछ । संविधानको धारा १०१ मा महाअभियोग सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोग लाग्न सक्छ ।