काठमाडौं । सुडानमा जारी गृहयुद्धमा मृत्यु हुनेको संख्या ५६ नाघेको छ। सडान चिकित्सा कमिटीले ५६ जनाकोम मृत्यु पुष्टि गरेको छ भने संख्या यो भन्दा बढ्ने जानकारी गराएको छ। सुडानको सेना र शक्तिशाली अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस आरएसएफबीच शनिबारदेखि लडाइँ जारी छ। शनिबार अर्धसैनिक समूहले राष्ट्रपतिको कार्यालय नियन्त्रणमा लिएको छ भने ९० प्रतिशतभन्दा बढी सरकारी साइट नियन्त्रणमा लिएको बताएको छ।
शनिबार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको थियो। झडपपछि सुडानी केन्द्रीय चिकित्सा समितिले खार्तूम आसपासका अस्पताल घाइतेले भरिएको जनाएको छ। विमानस्थलहरू बन्द भएका छन्। जारी युद्धमा ५९५ जना घाइते भएका छन्। सन् २०१९ अप्रिलमा सुडानका जर्नेलहरूले राष्ट्रपति ओमर अल बसिरलाई सत्ताच्यूट गरी सरकार आफ्नो हातमा लिएपछि सुडानमा हिंसा भड्किएको थियो।