चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनस्थित निवासको छतबाट खसेर सवारी चालक गम्भीर घाइते भएका छन् ।
गत राति करिब १२ बजेतिर खाना खाएर सुतेका गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सोमबार बिहान करिब ३ : ५४ बजेतिर घरको छतबाट खसेका थिए।
भरतपुर महानगरपालिका–११ स्थित साढे २ तले घर लामिछानेले निजी आवासका रुपमा भाडामा लिएका छन्।
तनहुँको चुनावी कार्यक्रम सकेर रास्वपा सभापति लामिछाने, महामन्त्री मुकुल ढकाल र लामिछानेका सहयोगी तथा रास्वपा नेता दीपक बोहरा उक्त निवासमा बसेकाे बताइएकाे छ ।
लामिछाने घरको भूइँ तलमा सुतेका थिए भने महामन्त्री ढकाल र बोहरा पहिलो तलामा सुतेका थिए। लामिछानेका सवारी चालक थापा र महामन्त्री ढकालका सवारी चालक दोस्रो तलामा सँगै सुतेका थिए।
सोमबार बिहान ३ : ४५ बजेतिर लामिछानेको घर अगाडि सुरक्षाका लागि ड्यूटीमा रहेका प्रहरीले लामिछानेका सवारी चालक थापा छतबाट खसेको थाहा पाएका थिए। प्रहरीले तत्काल उद्धार गरी थापालाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज पुर्याएका थिए।
घरको छतबाट खसेका चालक थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीकाे भनाइ छ।