काठमाडौं । द्वन्द्व पीडितहरुले प्रस्तावित संक्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेका छन् । द्वन्द्व पीडितहरुले विधेयकले आफूहरुलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
द्वन्द्व र न्याय सम्बन्धी विभिन्न नारा ब्यानर, प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका द्वन्द्व पीडितलाई प्रहरी पक्राउ गरेको छ । द्वन्द्व पीडितले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
नयाँबानेश्वरको एभरेष्ट होटल अगाडि प्रदर्शन गरिरहेका द्वन्द्वपीडित र प्रहरीबीच केहीबेर ठेलमठेल भएको थियो । द्वन्द्व पीडितहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले त्यसलाई रोक्ने प्रयत्न गरेको थियो । त्यही क्रममा द्वन्द्व पीडित र प्रहरीबीच धकेला धकेल भएको हो ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ । पीडितहरुले विधेयकमा पीडकलाई उन्मुक्ति दिने व्यवस्था समेत राखिएको भन्दै त्यसलाई संशोधन गर्न माग गर्दै आएका छन् ।