एजेन्सी । यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रमजानका लागि पैसा वितरण भइरहेको बेलामा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले यसबारे जानकारी दिएका छन् । शहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा मानिसहरू आतंकित भएर भागिरहेको देखिन्छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार सयौँ मानिस विद्यालयमा पैसा लिन भेला भएका थिए। यहाँ प्रतिव्यक्ति करिब ९ डलर रकम दिइँदै थियो । पैसा बाँड्नेलाई हिरासतमा लिई अनुसन्धान भइरहेको छ।
देशका गृहमन्त्रीले यसबारे जानकारी दिएका छन्। सन् २०१५ मा देशको सरकार अपदस्थ भएदेखि नै यो शहर हुथी विद्रोहीको नियन्त्रणमा छ।
यमनमा सन् २०१५ देखि युद्ध चलिरहेको छ। यो वर्ष हुथी विद्रोहीले सरकारलाई धपाएर देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका थिए।