सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भयो: प्रचण्ड

तनहूँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्री दाहालले यो यात्रालाई पूर्णता दिने अभियानमा आफूहरु रहेको बताउनुभयो।

उहाँले देशमा सुशासनको यात्रा सुरु भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो र पीडा महशुस गर्दै आएकाले सडकको कामलाई तीव्रता दिइने प्रधानमन्त्री दाहालले बताउनुभयो । बन्दीपुरमा लिफ्टिङ गरेर खानेपानी योजना पूरा गराउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तनहुँ र चितवन जोड्ने घुमाउनेमा बन्दै गरेको पुल एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो ।

भानु जन्मस्थललाई संसारभरिका नेपाली भाषीले अध्ययन गर्ने साधना केन्द्रका रुपमा विकास गरिने बताउँदै प्रधानमन्त्री दाहालले भानुभक्त प्राणी उद्यानको कामलाई गति दिइने बताउनुभयो । दलित, आदिवासी जनजातिको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

देवघाट ऐतिहासिक स्थल नेपालका मात्र नभई दक्षिण एशियाका लागि प्रसिद्ध रहेकाले देवघाटमा सांस्कृतिक विश्वविद्यालय बनाउनेबारेमा गम्भीर अध्ययन गरिने दाहालले विश्वास व्यक्त गर्नुभयो । तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराई परिवर्तनका निम्ति परिचित भएकाले उहाँलाई जिताएपछि मन्त्री बनाउने दाहालले घोषणा गर्नुभयो । 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरुले लिने बताउनुभयो । वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गोविन्द भट्टराईले प्रस्तुत गर्नुभएको सबै विकासका योजना आफूहरुले पूरा गर्नुपर्ने प्रतिबद्धता जनाउनुभयो ।

“तनहुँ ऐतिहासिक महत्व बोकेको जिल्ला हो, राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला पनि हो, गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो”, उहाँले भन्नुभयो । तनहुँमा सुविधासम्पन्न अस्पताल र केन्द्रीय विश्वविद्यालय बनाउने भट्टराईको चाहना पूरा हुने सभापति देउवाले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति सही दिशामा लैजाने जनताको चाहनालाई साकार पार्न अहिलेको गठबन्धन प्रतिबद्ध रहेको बताउनुभयो । “त्यसका लागि पनि वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँका जनताले सही निर्णय गर्नुपर्नेछ”, नेपालले भन्नुभयो ।

पाँच वर्षको स्थायी सरकार कायम गर्ने प्रतिबद्धताबमोजिम अगाडि बढेको गठबन्धनले देशको विकास गर्ने नेपालको भनाइ थियो । गठबन्धनलाई बलियो बनाएर जाने सङ्कल्प लिइएको बताउँदै उहाँले भन्नुभयो, “सहमति र एकताले देश विकास गर्नेमा हामी प्रतिबद्ध छौँ, जनताको समस्या समाधानका लागि प्रतिबद्ध छौँ ।” जनताको पीडा बुझ्न नसके राजनीतिको कुनै काम नरहेको बताउँदै देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने काममा गठबन्धन सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us