काठमाडौं । दुई वरिष्ठ फिल्म निर्माता तथा निर्देशक नीर शाह र तुलसी घिमिरेले एक अन्तर्राष्ट्रिय फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । घिमिरेले निर्देशन गर्ने फिल्मको निर्माणमा नीर शाह फिल्म्स र घिमिरेकै प्रोडक्सन कम्पनीले सहकार्य गर्ने टुंगो लागेको छ ।
यसैसाता राजधानीमा आयोजित निफ फिल्म फेस्टिभलको पत्रकार सम्मेलनमा शाह र घिमिरेले आफूहरुले सहकार्य गर्न लागेको खुलासा गरेका हुन् । दुवै जनालाई फिल्म निर्माणमा यथार्थवादी स्कुलको प्रवर्द्धन गर्ने अभियन्ताको रुपमा समेत लिइन्छ ।
‘उस्तै विचारधारा मिल्ने हामी दुईजना मिलेर फिल्म उद्योगलाई तताउने जमर्को गरेका हौं,’ शाहले भने, ‘हामी झगडामा मात्र रमायौं । उदेकलाग्दो परिस्थिति बन्यो । यो माहोलमा सिर्जनात्मक कामलाई पनि अघि बढाउने उद्देश्यले सहकार्य गर्न लागेका हौं ।’
अन्तर्राष्ट्रिय प्रोजेक्ट बताइएको यो फिल्मलाई घिमिरेले निर्देशन गर्नेछन् भने शाहको कम्पनी निर्माताको रुपमा हुनेछ । ओस्कार अवार्डमा मनोनित ‘हिमालयः क्याराभान’ फिल्म पनि नीर शाह फिल्म्सकै ब्यानरमा निर्माण भएको थियो ।