काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेको अवस्था कस्तो छ भनेर नेताहरूलाई सर्वेक्षण गर्न लगाएका थिए । देशका केही जिल्लामा गरिएको सर्वेक्षणपछि ओली यतिबेला तनावमा छन् ।
सर्वेक्षणपछि ओलीलाई बुझाईएको रिपोर्टमा गठबन्धन कायम रहेको खण्डमा प्रत्यक्षमा पाँच देखि आठ सिट जित्न सकिने बताइएको स्रोत बताउँछ । गठबन्धन भात्काउना सकिएको खण्डमा भने ३५ देखि ४० सिट प्रत्यक्षमा जित्ने बताइएको छ । जसमा पनि एमालेका प्रभावशाली केहि नेताहरूले हार्ने देखाइएको छ ।
गत चुनावमा एमालेले राम्रो मतान्तरले जितेका केहि जिल्लाको रिपोर्ट पाएपछि ओलीले नयाँ रणनीतिमा बनाउन थालेका छन् । ओली निकट स्रोतका अनुसार नेताहरूले विभिन्न जिल्लामा गरेको सर्वेक्षणमा एमालेका प्रभावशाली नेताहरू पनि सुरक्षित नभएको पाइएको छ ।
अर्को रणनीति नबनाएको खण्डमा आउँदो चुनावमा चौथो दल बन्नुपर्ने अवस्था आउने आंकलन नेताहरूले गरेका छन् । एमाले अध्यक्ष ओलीको क्रेजको कारण केहि मत थपिएपनि माओवादी र एकीकृत समाजवादीका कारण ठुलो क्षति भैसकेको सर्वेक्षणले देखाएको स्रोतको दाबी छ ।
यस्तै समानुपातिकमा भने देशभरबाट २५ देखि ३० लाख भोट आउने आंकलन गरिएको छ । एकीकृत समाजवादीका कारण बढीमा १० लाख समानुपातिक भोट काटिएको आंकलन रिपोर्टमा गरिएको छ । उक्त रिपोर्टमा सबैभन्दा क्षति सुदूरपश्चिममा भएको जनाइएको छ । लुम्बिनी प्रदेशमा भने सबैभन्दा राम्रो अवस्था रहेको बताइएको छ ।
उक्त रिपोर्ट पाएपछि ओली लगायतका नेताहरू नयाँ रणनीति बनाउन जुटेका छन् । एमालेका केही नेताहरूलाई खटाएर देशैभरको अवस्था बुझ्न लगाएका ओलीले आउँदो संसदीय निर्वाचनमा गठबन्धन कायम रहेको खण्डमा तनावको अवस्था सामना गर्नुपर्ने देखिएपछि देखिने भन्दा नदेखिने तरिकाले रणनीति बनाउन ब्यस्त छन्।
उनले नेकपा एमाले एकतिर र पाँच दलीय गठबन्धन अर्कातिर भएकाले राष्ट्रिय सभा निर्वाचन आफूहरु प्रतिकूल हुने बताए । अर्को, गठबन्धनको अन्तिम शक्ति राष्ट्रियसभासम्म हुने भन्दै भत्कने भविष्यवाणी पनि गरे ।
दुई तिहाईको सरकारको प्रधानमन्त्री बनेका ओली यसरी खुम्चिए कि गठबन्धनले मिलेर उनलाई जताततै सून्यमा झारिदिए । केन्द्रमा सरकार ढल्यो । ७ मध्ये ६ वटा प्रदेशमा सरकारमा रहेको एमाले प्रतिपक्षमा पुग्यो । राष्ट्रियसभाको एक सिटको चुनाव विगतमा हार्यो । अब १९ सिटका लागि हुने चुनावमा सून्यमा झर्ने स्थिति बनेको छ ।