काठमाडौं — नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी पास भएको दिन फागुन १५ गते ‘कालो दिन’ भएको बताएका छन् ।
एमसीसीविरुद्व शुक्रबार आयोजित विरोध कार्यक्रममा विप्लवले एमसीसी पास भएको दिन फागुन १५ गते ‘कालो दिन’ भएको बताएका हुन् । उनले एमसीसी पास भएपछि जनता स्तब्ध भएको बताए ।
उनले एमसीसी अनुदान नभएर क्रान्तिकारी आन्दोलन, कम्युनिष्ट पार्टी, स्रोत साधनलगायत देशलाई नै कब्जा गर्ने षड्यन्त्र रहेको दाबी गरे ।
एमसीसी पास भएर देशलाई दुर्घटनामा परेको उनले बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न सोध्दै भने, ‘देशलाई दुर्घटनामा पारेर दुर्घटनाबाट बचाए भन्ने ?
एमसीसी पासपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले देश दुर्घटनाबाट बचेको बताएका थिए । उनले एमसीसी असंवैधानिक रहेकोले लागू नहुने बताए । उनले चेतावनी दिँदै भने, ‘अमेरिका ५ वर्षका लागि ५ दशकका लागि आउन चाहन्छ । एमसीसीसँगै ठूलो भयानक विनाश आउनेवाला छ । त्यसले ठूला दुर्घटना निम्त्याउनेछ । त्यसकारण हामी समयमै सचेत हुनुपर्छ ।’