नुवाकोटमा सत्तारूढ दलबीच चुनावी तालमेल पक्का

२० चैत्र, नुवाकोट । वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरुबीच तालमेल र गठबन्धन गर्न नुवाकोटमा तयारी थालिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष एवम् संयोजकहरुको बैठकले पालिका भागबन्डा गरेर उम्मेदवार उठाउनका लागि विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको छलफल सकारात्मक भएको र निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति रमेशकुमार महत, नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय प्रमुख पुष्प लामिछाने ‘अरुण’ र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गोविन्द नेपालीसहित तीन दलका जिल्ला नेताहरुको बैठकमा आगामी चुनावमा कुन पालिकामा कुन पार्टीले भाग लिने भन्ने सम्बन्धमा छलफल गरेका थिए ।

बैठकपछि जारीे संयुक्त विज्ञप्तिमा ‘सङ्घीय सरकारमा संलग्न गठबन्धन दलहरुको केन्द्रीय संयन्त्रको निर्णय तथा सम्बन्धित पार्टीको केन्द्रीय समितिको परिपत्रअनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा सत्तागठबन्धन दलका जिल्लामा उपलब्ध प्रमुखहरुको बैठक बसी प्रारम्भिक छलफल गरिएको’ उल्लेख गरिएको छ ।

बैठकमा दलहरुले आ–आफ्नो पार्टीका तर्फबाट प्रस्ताव गरिएका र त्यसमाथि भएको छलफल सकारात्मक रहेको बताए पनि अन्तिम निर्णय भने हुन बाँकी रहेको जनाइएको छ ।छलफलमा जिल्लामा रहेका बाह्र स्थानीय तहमध्ये नेपाली कांग्रेसले अहिले सातवटा स्थानीय तहमा आफ्नो नेतृत्व रहेकामा ती पालिका नभए पनि त्यति सङ्ख्यामा आफ्नो नेतृत्व हुनुपर्ने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us