काठमाडौं। आर्थिक वर्ष २०७७ र ७८ को फागुन मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको छ । नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ ।
झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुकभन्दा आफैँमा लाजमर्दो विषय बन्दै गएको छ । सबैभन्दा धेरै आलु भारतबाट ६ अर्ब ५६ करोड ४६ लाख ४३ हजार रुपैयाँ र बङ्गलादेशबाट २४ करोड ८१ लाख ५९ हजार रुपैयाँ गरी कूल ६ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बराबरको आयात भएको छ । भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ ।
सोही अवधिमा चार अर्ब ३० करोड ५४ लाख ३९ हजार रुपैयाँ मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ । भारतबाट ११ करोड ५५ लाख ३२ हजार ६८७ किलो र चीनबाट ७३ हजार ६८० किलो प्याज आयात भएको हो ।
गत साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा ४१ करोड १३ लाख ५६ हजार मूल्यका गोलभेँडा आयात भएको छ । भारतबाट ४१ करोड १३ लाख ४५ हजार र इन्डोनेशियाबाट ११ हजार मूल्यका गोलभेँडा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा भारतबाट तीन करोड ८० लाख चार हजार ३३९ किलो र इन्डोनेशियाबाट ६२५ किलो गोलभेँडा आयात भएको छ । इन्डोनेशियाको गोलभेँडा सलादका लागि आयात भएको हो । तीनथरि तरकारीको आयातलाई तथ्याङ्कका रूपमा केलाउँदा गोलभेँडाको उत्पादनमा भने प्रगति हुँदै गएको देखिन्छ ।
यहाँ आलु, प्याज र गोलभेँडा खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा आलु, प्याज र गोलभेँडाको परनिर्भरता चुलिँदै गएको देखिन्छ । नेपाल सरकारले आगामी दुई वर्षमा नेपाललाई तरकारी बालीमा आत्मानिर्भर बनाउने घोषणा गरेको भए पनि प्रतिफल न्यून देखिन्छ ।