काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमा आज हुने भनिएको पूर्ण सुनुवाइ रोक्न निवेदन परेको छ ।
पूर्ण सुनुवाइका लागि आइतबार न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ । तर, आजै माधव नेपाल पक्षको वकिलमार्फत पूर्ण सुनुवाइ रोक्न माग गर्दै निवेदन दिएको सर्वोच्च स्रोतले जनाएको छ ।
यसअघि फागुन २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरेको थियो । तर, सभामुख सापकोटाले कारबाही अघि नबढाई सूचना टाँस्न अस्वीकार गरेको र निर्वाचन आयोगले समेत नेपाल नेतृत्वको समाजवादीलाई दलको मान्यता दिएपछि ओलीले रिट हाल्नुभएको थियो । कुनै एउटा पक्षले स्थगनको माग गर्दा सुनुवाइ रोकिन सक्ने कानुनी व्यवस्था छ ।