काठमाडौं । देशका विभिन्न ठाउँमा गरेको सरकारी ठेक्काको रकम अर्थिक वर्षको अन्तिममा पनि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले आज पनि पदर्शन जारी राखेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो प्रदर्शनलाई आज पनि निरन्तरता दिएको हो ।
ठेकेदारहरुको संस्था महासंघमा आवद्ध व्यवसायीहरु आज भने सिठी फुक्दै अनामनगरबाट नयाँ बानेश्वरसम्म पुगेका छन् । बील रकमको भुक्तानी, सम्झौताको म्याद थप, सार्वजनिक खरिद अनुमानमा सहजीकरणलगायत नौ बुँदे माग राख्दै सांसदहरुको ध्यानाकर्षण गराउन भन्दै ठेकेदारहरु महासंघको कार्यालय अनामनगरबाट नयाँ बानेश्वर पुगेका हुन् ।
दोस्रो चरणको आन्दोलनअन्तर्गत महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा, महासचिव रोशन दाहाललगायत सयौंको संख्यामा रहेका उनीहरुले प्लेकार्ड बोकेका छन् । सेफ्टी हेल्मेट र ज्याकेट लगाउँदै कालो ब्यानर बोकेर ठेकेदारहरुले सिठी र्याली निकालेका हुन् ।