काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले आफू पूर्व निर्धारित कार्यक्रमअनुसार युरोप भ्रमणमा गएका बेला माधव नेपाल भाग्यो भनेर समाचारहरु प्रकाशित भएकोमा चित्त दुखाउनु भएको छ ।
सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले माधव नेपाल भाग्ने खालको मान्छे नभएको प्रस्ट्याउनु भयो । साथै उहाँले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो ।
‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ’, पूर्व प्रधानमन्त्री नेपालले भन्न्ुभयो, ‘बालुवाटार जग्गा प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’ अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको दाबी गर्नुभयो ।
‘कतिपयले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन । गोली खाँदा त नभाग्ने, राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्छे म । कुनै गल्ती अपराध र बदमासी नगरेको सन्दर्भमा ’, उहाँले भन्नुभयो, ‘कुनैपनि कानुनको प्रक्रिया अन्तर्गत प्रोसेसहरु अघि बढ्छन् ।’