काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार गालेको छ। तौलिएपछि उक्त सुन ६० किलो ७ सय १६ ग्राम भएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो।
सोमबार ब्रेक शुबाट निकालेर तौलिँदा उक्त सुन ६० किलो ७ सय ८९ ग्राम थियो। अहिले सुन गालेर ३४ वटा बिस्कुट बनाएको उहाँले बताउनुभयो।
सुन गाल्दा ७३ ग्राम मात्रै जर्ती निस्किएको छ। अब महाशाखाले यसको गुणस्तर परीक्षण गर्नेछ। ३ दिनभित्र गुणस्तर परीक्षण गरिसक्ने महाशाखाले बताएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेपछि सुन जोखिएको थियो। राजश्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु विमानस्थल बाहिरबाट बरामद गरेको थियो। सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।