बङ्गलादेशबाट जहाज चार्टर्ड गरेर सात सय पर्यटक नेपाल आउँदै

काठमाडौं। बङ्गलादेशबाट सात सय पर्यटक जहाज चार्टर्ड गरेर नेपाल आउने भएका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत् नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे । एउटै कम्पनीमार्फत् ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो । नेपालबाट नजिक दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे।

यसअघि सन् २०२२ मा बङ्गलादेशबाट २५ हजार तीन सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us