काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा सभामुखले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको भन्दै पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।
प्राकृतिक विपत्ति लगायतका विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो गरेको भन्दै घिमिरेले दलीय सहमतिविना सदन अघि बढ्न नसक्ने स्मरण गराउनुभयो । ‘कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् । समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ । सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरू नै घण्टौं बस्दा पनि सहमति भएन’, सभामुखको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भन्यो ।
जवाफमा प्रधानमन्त्री दाहालले संसद खुलाउन एमाले नेतृत्वसँग कुरा गरेर आफूले भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’
गत साउन ३ गते बरामद भएको ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।