काठमाडाैं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसदको अवरोध हट्ने बताउनुभएको छ।
शनिबार दिवंगत रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईहरुलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ भोलि सदन खुल्छ ।’
प्रधानमन्त्री दाहालले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताउनुभयो ।