विषयगत समितिको सभापति निर्वाचनका लागि कार्य तालिका सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्य तालिका तोकिएको छ ।

सभापतिका लागि दर्ता प्रस्ताव पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् । प्रतिनिधिसभा अन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ ।

प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टा अगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित भोलि बिहान ११: ०० देखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ ।

यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची भोलि बेलुका ४:३० बजे प्रकाशन गरिनेछ । यस्तो सूची दर्ता क्रमअनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ । दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले पर्सि प्रस्तुत गर्नेछन् । समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us