पेशी सरेसँगै एसिया कप खेल्न गए सन्दीप

काठमाडौं । गत वर्षको भदौदेखि बलात्कारको आरोप खेपिरहेका राष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछाने पेशी सरेसँगै एसिया कप क्रिकेट खेल्ने पाकिस्तान गएका छन् । बुधबारदेखि पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा हुने एसिया कप क्रिकेट खेल्न सन्दीप आज पाकिस्तान गएका हुन् ।

उनको हिजो काठमाडौँ जिल्ला अदालतमा पेशी रहेको थियो । तर न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएसँगै मुद्दा लम्बिएको छ । अर्को पेशी भदौ २१ गतेलाई तोकिएको छ । आज बिहान उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ पुगेका थिए ।

सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एसिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताए । उनले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको तर्क गरे । सन्दीपले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए ।

समूह ए मा रहेको नेपालले बुधबार पाकिस्तानसँग पाकिस्तानमा र आउँदो सोमबार भारतसँग श्रीलंकामा खेल्दैछ । नेपालले पहिलो पटक एसिया कप खेल्दै गर्दा उत्साह पालेको छ । पाकिस्तान अहिले विश्व नम्बर एक टिम हो भने भारत विश्व नम्बर तीन टिम हो । नेपालले दुवै देशलाई हराउने भन्दा पनि गतिलो अनुभव बटुलेर आउने अपेक्षा गरिएको छ । दोस्रो समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *