एजेन्सी । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले राजीनामा बुझाएका छन्। आर्थिक संकट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सबै २६ मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् ।
तर प्रधानमन्त्री महिन्दा राजपाक्ष र उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षले भने राजीनामा दिएका छैनन् । मन्त्रीपरिषद्का सदस्यहरुले प्रधानमन्त्रीलाई आइतबार राजीनामा पत्र बुझाएको जानकारी पत्रकारलाई दिएका हुन् ।
राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा नामल राजपाक्षपनि रहेका छन् । यसले प्रधानमन्त्री र राष्ट्रपतिलाई देशमा स्थायित्व कायम गर्नका लागि सहयोग गर्ने अपेक्षा रहेको शिक्षामन्त्री दिनेश गुणवर्देनाले ट्वीटमा उल्लेख गरेका छन् ।प्रदर्शन रोक्नका लागि श्रीलंकामा राष्ट्रिय आपतकालीन अवस्थासँगै शुक्रबार राष्ट्रपतिले ३६ घण्टे कर्फ्यू जारी गरेका थिए । कर्फ्यूका बाबजुद प्रदर्शन भने रोकिएको छैन । प्रदर्शन चर्किँदै गएपछि मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
सन् १९४८ यताकै गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा इन्धन, खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्रीको अभाव रहेको छ । आर्थिक संकट सुल्झ्याउन सरकारले काम नगरेको भन्दै आक्रोशित नागरिकले दैनिक प्रदर्शन गर्दै आएका छन् ।