काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट नेपाल विजेता र ओमान उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।
आज भएको समूह बी को खेलमा कुवेतले हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेसँगै नेपालसँगको भेट पक्का गरेको हो ।
जितको लागि २७३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित ५० ओभरमा २४२ रनमा अलआउट भयो । यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो ।
नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार हुनेछ । अर्को सेमिफाइनलमा युएई र ओमानले शनिबार नै खेल्ने छन् ।
फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । फाइनल खेल आगामी सोमबार हुनेछ ।