आगामी मौद्रिक नीतिमार्फत ब्याजदरको समस्या समाधान हुन्छ: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताउनुभएको छ ।आगामी आर्थिक वर्षको बजेट एवं राजश्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताउनुभयो ।

“अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ”, उहाँले भन्नुभयो, “ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।” 

राष्ट्र बैंकलाई स्वतन्त्ररुपमा काम गर्ने अधिकार भएको भन्दै उहाँले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिमार्फत बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताउनुभयो । 

उहाँले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताउनुभयो । “हाम्रो ठेक्का प्रक्रिया, ‘साइट क्लियरेन्स’लगायतमा समस्या छ”, उहाँले भन्नुभयो, “यसले गर्दा आयोजनाको काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन ।”

आर्थिक वर्षको पहिलो दिनबाट काम सुरु गर्नुपर्ने भन्दै उहाँले यसका लागि सबै मन्त्रालयका साथीसँग कुरा गरिरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेटमार्फत समस्या समाधानमा आफू इमानदारिताका साथ लाग्ने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *