झर्नु त त्यसरी झर्नु
जसरी हिमालयबाट सञ्जीवनी
जस्तो सहिष्णुता बोकेर
पहाड हुँदै तराईतिर झर्छ चीसो र पवित्र हावा,
जसरी अटल पहाडका ढुङ्गा र
ढुङ्गा जस्ता कठोर मनहरूलाई चोख्याउँदै झर्छन् झरना र नदीहरू।
सपनाका रङ्गहरू देखाउने ईन्द्रेणी जसरी झर्नु।
किसानका आँखाको बर्षा थाम्न झर्ने मौसमी बर्षा जसरी झर्नु।
तिमी त असिना जसरी झर्न खोज्छौ।
अझ छुट्टिएरै झर्ने मन भए पनि
पहेँलिएर रूखबाट झरेका पात जसरी झर्नु
जसले रुखलाई नयाँ जीवन दिन्छन्।
सर्पको शरिरबाट झरेको काँचुली जसरी झर्नु
जसले नयाँ जीवन देओस्
तिमी त घर छोड्दाखेरि बाआमाका
बूढा औंलाले आशीर्वाद मिसाएर
निधारमा टाँसिदिएका अक्षता जसरी झर्यौ।
मलाई त भाग्य नै झरेको अनुभुति हुँदैछ।
जीवनको आयु बताउने शीतका थोपा जसरी झरेको भए पनि हुने,
हरेकदिन कुनै रिस, राग, द्वेष , नबोकी
पोल्टाभरि प्रेम र सद्भाव बोकेर
गाउँबाट बेसि झर्ने गाउँले जिन्दगी जसरी झरे पनि हुने
तिमी त आफ्नै उज्यालो भएर पनि
बत्तीको उज्यालोतिर झरेको जुनकीरी जसरी झर्यौ।
तिमी त नझर्नु पर्ने ठाउँबाट झर्यौ।
सबैलाई हँसाउने गरी झर्ने भए सूर्यचन्द्रको उज्यालो जसरी झर्नू
तिमी त ताराहरू जसरी झर्न खोज्छौ
संसारकै अग्लो ठाउँबाट झर्ने मन भए सफल आरोहण गरेर सगरमाथाबाट झर्नु पर्ने
तिमी त कुनै जहाजबाट झर्यौ
तिमी त हातबाट सिसा झरे झैँ झर्यौ
अब त बटुलूँ भने हात काट्छ, छोडूँ भने मन फाट्छ
आँखाबाटै झर्ने भए हर्षाश्रु बनेर झर्नुपर्थ्यो
तिमी त बूढा बाआमाका आँखाबाट झरेका आँसु जसरी झर्यौ।
जो आफू मात्रै बगेनन् खुसी र आयु पनि सँगै बगाए।
लक्ष्मण सङ्गम, अछाम
हाल ( काठमाडौं)