११ अर्ब रुपैयाँ चिनियाँ अनुदानमा चक्रपथ विस्तार: कलंकी–बसुन्धारा खण्ड आधुनिक बन्ने

काठमाडौं। काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनको मेरुदण्ड मानिएको चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीन सरकारबीच बुधबार औपचारिक सहायता सम्झौता सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ ले एक विशेष समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यससँगै लामो समयदेखि प्रतीक्षामा रहेको कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तार कार्य अघि बढ्ने सुनिश्चित भएको छ। परियोजना अन्तर्गत ८.२ किलोमिटर लामो सडक खण्डलाई आधुनिक स्वरूपमा विस्तार गरिनेछ भने आवश्यक स्थानमा पुलहरू समेत निर्माण गरिनेछ। चीन सरकारले यस परियोजनाका लागि करिब ११ अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सम्झौता कार्यान्वयनका क्रममा देखिन सक्ने प्रशासनिक तथा कानुनी जटिलताहरूलाई सरकारले गम्भीर रूपमा लिएको मन्त्री लम्सालले बताएका छन्। उनले परियोजना सञ्चालनका क्रममा आइपर्ने कुनै पनि समस्या २४ घण्टाभित्र समाधान गर्दै आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार उत्तर–दक्षिण सडक सञ्जाल विकास सरकारको प्राथमिकतामा रहेको छ। साथै आगामी दिनमा पूर्वाधारका अन्य ठूला क्षेत्रमा समेत चीनबाट थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरिएको छ।

यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ विस्तार कार्य सन् २०१९ मा सफलतापूर्वक सम्पन्न भइसकेको थियो।

त्यसकै निरन्तरताका रूपमा दोस्रो चरणको यो सम्झौतालाई निकै महत्त्वका साथ हेरिएको छ।
हस्ताक्षर समारोहमा राजदूत झाङ माओमिङले नेपालको विकास निर्माणमा चीन सधैं सहकार्य गर्न तत्पर रहेको बताएका छन्। उनले नेपालमा लगानीका लागि उपयुक्त र सुरक्षित वातावरण सुनिश्चित भएमा चिनियाँ लगानीकर्ताहरू पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा ठूलो लगानी गर्न इच्छुक रहेको जानकारी दिए।

यो परियोजनाले काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम कम गर्न र सहरी आवागमनलाई सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। साथै, चिनियाँ अनुदानमा निर्माण हुने यो सडक खण्डले नेपाल–चीनबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2