काठमाडौं । सरकारसँगको ७ बुँदे सहमतिपछि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको धर्ना स्थगित भएको छ । आविष्कार केन्द्रका अध्यक्ष पुन अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कार लगायतका माग राखेर माइतीघरमा धर्ना बस्नुभएको थियो । सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कार लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएको छ । सरकारले पुनसँग वार्तापछि सोमबार ७ बुँदे सहमति गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ।
सरकार र पुनबीच भएको सहमति पत्रमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने उल्लेख गरिएको छ । कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने सहमति भएको छ । विधेयक संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने उललेख गरिएको छ । आगामी आर्थिक वर्ष पूँजीगत विकास) बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने पनि सहमतिको बुँदामा राखिएको छ ।
अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने सहमतिमा उल्लेख छ ।