काठमाडौं । पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ। पूर्वमन्त्री रिजाललाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । सभापति देउवाले पूर्वमन्त्री रिजाललाई पार्टीको विधान, २०१७(संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको कांग्रेसले जनाएको छ ।
रिजाल गएको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेर पराजित हुनुभएको थियो । तत्कालीन अवस्थामा देउवा नेतृत्वको सरकारमा रक्षामन्त्री रहनुभएका रिजालले महामन्त्रीमा पराजय भए लगत्तै पदबाट राजीनामा दिनुभएको थियो ।
सभापति देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा पराजित डा प्रकाशशरण महतलाई केन्द्रीय सदस्य, पार्टी प्रवक्ता, समानुपातिक सांसद हुँदै अर्थमन्त्री समेत बनाउनुभएको छ । तर रिजालले गत निर्वाचनमा टिकट समेत पाउनु भएन । महाधिवेशन भएको डेढवर्षपछि बल्ल रिजाल केन्द्रीय सदस्य मनोनित हुनुभएको हो ।