ललितपुर । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको छ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी लगत्तै रायमाझी सम्पर्ककविहीन भएपछि प्रहरीले घरमा छापा मारेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी पाएपछि फरार भएका रायमाझीको घरमा प्रहरीले आज छापा मारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको निवासमा खानतलासी लिइएको बताए ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रुपैयाँ उठाएर ठगेको आरोपमा काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।