तरकारी खेतीबाटै करोडौं आम्दानी

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटरमात्रै अहिले एक हजार ८०० बोट लगाउनुभएको छ ।  

लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटर खेती सुरु गर्नुभएका उहाँले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिनुभएको  छ । एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ । 

दैनिक तीन/चार क्विन्टल टमाटर बेचिरहनुभएका उहाँको टमाटरले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ४० देखि ५० रुपैयाँसम्म थोक मूल्यमा टमाटरका साथै  तरकारी पनि दैनिक १० हजारको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहनुभएको छ ।  

बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आउनुभएको छ । अन्न खेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा १५/१६ लाख आम्दानी हुँदै आएको छ । उहाँले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ ।

पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक हुनुहुन्छ । सामान्य परिवारका जन्मनुभएका उहाँलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमूलक अर्को पेसामा लाग्ने सोच बनाउनुभएका बञ्जाडेले तरकारी खेतीबाटै  वार्षिक लाखौँ रुपैयाँ कमाउनुभएको हो । 

तरकारीबाट वर्षमा १० लाख सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाउनुभएका बञ्जाडेले तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसक्नुभएको छ । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उहाँले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us