काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चुरोटभित्र सुन राखेर तस्करी हुने गरेको भेटिएको छ । भन्सार जाँचका क्रममा विद्युतीय चुरोट समातिएपछि छुटाउन प्रयास गर्दा झण्डै ९ किलो बराबरको सुन आएको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।
विद्युतीय चुरोटको नाममा आएको सुन छुटाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बासहित ४ जनालाई पक्राउ गरेपछि उक्त खुलासा भएको हो ।
प्रहरीका अनुसार विद्युतीय चुरोटभित्र आएको सुन नासु रेवन्त खड्काले बिचौलियासँग मिलेर साटफेर गरेर न्यूरोडमा बिक्री गरेका थिए । यस प्रकरणमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।