जनकपुर । यात्रुले मुसा देखेपछि बुद्ध एयरको उडान स्थगित भएको छ । जनकपुरबाट शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको हो ।
जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो। तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले मुसा देखेको प्रवक्ता निरौलाले बताउनुभयो । ‘काठमाडौंबाटै उडेको जहाज थियो, त्यहाँबाट यात्रु बोकेर काठमाडौं आउन लागेको थियो’ उहाँले भन्नुभयो– ‘यात्रुहरू बसिसकेका थिए। त्यसबेला यात्रुले मुसा देखेछन् ।’
बुद्ध एयरको त्यो जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए। प्रवक्ता निरौलाका अनुसार जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर जाने तयारीमा छन्। इन्जिनियरहरूले जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने भएको छ । जहाज त्यहीँ राखेर यात्रुलाई अर्को जहाजबाट ल्याउने तयारी भइरहेको निरौलाले जानकारी दिनुभयो ।