डाक्टर यादवको हत्या गरेको आशंकामा ६ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं। बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टर विजय यादव शनिवार विहान घरको कम्पाउण्डमा मृत फेला परेका थिए। डाक्टर यादवको हत्या गरेको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। मृतकका आफन्तले पनि यादवको हत्या भएको भन्दै अनुसन्धान गरेर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

आफन्तले आइतबार नोवेल मेडिकल कलेज नजिकै टायर बालेर प्रदर्शन गरी सत्यतथ्य छानविन गर्न माग गरेका थिए। प्रहरीले वास्तविकता पत्ता लगाएर सार्वजनिक गर्ने र कोही दोषी देखिए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो।

शुक्रबार नोवेल मेडिकल कलेजले आयोजना गरेको स्वास्थ्य शिविरमा फर्किएका उनी साथीहरुसँगै बिराटनगरकै एयरपोर्ट मोडको एउटा होटलमा मादक पदार्थ सेवन गरेर बसेको खवर सार्वजनिक भएको थियो। सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भएका डाक्टर यादव प्रेम बस्नेतको घरको दोस्रो तलामा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको छ। यादवले हाम फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएता पनि घटनास्थलबाट प्राप्त केही प्रमाणले भने अनुसन्धानलाई हत्यातिर मोडेको छ। हत्या पछि शवलाई कम्पाउण्ड गेटमा ल्याएर राखिएको हुन सक्ने आंकलनहरु भएतापनि हत्या भएको हो या होइन भन्नेचाहिँ पुष्टि गर्न बाँकी छ।

मृतक यादवको डेरा नजिक शुक्रबार राति ११ बजेतिर ७–८ जनाको समूहबीच झगडा भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्। प्रहरी घटनास्थल पुग्दा झगडा गर्नेहरु फरार भएको बताइएको छ। पहिचान भइसकेका झगडामा संलग्नलाई प्रहरीले शनिबार नै सोधपुछको दायरामा ल्याइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us