काठमाडौं । धनुषा जिल्लामा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गएसँगै धनुषा प्रहरीले चोरी डकैतीमा संलग्नहरुलाई पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको छ ।
धनुषा प्रहरीले सादा पोशाकमा चोर पक्राउ गर्नका लागि गस्ती टोली खटाएपछि चालु आर्थिक वर्ष २०७९/०८० मा चोरी मुद्दाका ९७ जना चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।
चालु आर्थिक वर्षमा हालसम्म दर्ता भएका ९६ वटा चोरी मुद्दामा ९७ जना चोरी डकैतीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घरमा ठूलाठूला चोरीदेखि मोटरसाइकल, मोबाइल तथा दमकल चोरी लगायतका चोरी डकैतीमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार चोरीमा पक्राउ भएपनि मुद्दा दर्ता नभएर अभद्र व्यवहारमा ३ सय ३० वटा मुद्दा दर्ता गरिएको छ । जसमा ४ सय जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ गरिएकामध्ये १ सय ३० जनालाई कारबाही समेत गरिसकिएको बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक गौतमका अनुसार चोरी मुद्दामा २५ जनालाई सिन्धुली कारागार, ९ जनालाई जलेश्वर कारागार र २ जनालाई झुम्का कारागार पठाइएको छ । त्यस्तै अभद्र व्यवहार मुद्दाका ९३ जनालाई सिन्धुली कारागार र १ जनालाई जलेश्वर कारागार पठाइएको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरी घटनामा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।