काठमाडौं । ललितपुर महानगरपालिकाको जावलाखेल मैदानमा प्रथम ललितपुर जुत्ता चप्पल व्यापाार मेला लाग्ने भएको छ । नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाइ आम उपभोक्ताहरुको बीचमा परिचित गराउने उद्देश्यले जुत्ता चप्पल व्यापार मेला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
आइतबार काटमाडौंमा पत्रकार सम्मेलन गरी देशमा भइरहेको आर्थिक मन्दि र आर्थिक अभावका कारण कतिपय उद्योगहरु बन्द हुदै गईरहेका बेला उद्योगी व्यवसायीहरुले आत्महत्या जस्तो बाटो रोज्न बाध्य हुनु पर्ने जस्ता परिस्थिति सिर्जना भईरहेको बेला व्यवसायीहरुको मस्तिष्कलाई सकरात्मक बनाउदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त यो अभियानमा लागेको बताउनुभयो ।
मेला जेठ १७ गतेदेखि असार १७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुने छन् । मेला अवधिभर उपभोक्ताहरुलाई न्यूनतम २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुट व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।