काठमाडौं । बजेट घोषणा लगत्तै सुनको मूल्य ह्वात्तै बढेको छ । सरकारले बजेटमा भन्सार महशुल वृद्धि गर्ने उल्लेख गरेको छ । भन्सार महशुल वृद्धि र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले सुनको भाउ बढेको हो ।
सुनको भाउ तोलामै १ हजार ५ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासघले जनाएको छ । महासघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार सुनसँगै चाँदीको भाउ समेत बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भएको छ । सरकारले बजेटमार्फत सुन र चाँदीको प्रति १० ग्राम भन्सार महसुल वृद्धि गरेपछि भाउ बढेको हो ।