एजेन्सी । अफगानिस्तानमा छात्रासहित ८७ जनालाई बिष खुवाइएको छ । एक ग्रामीण क्षेत्रमा ८७ जनालाई बिष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ। अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका छात्रासहित ८७ जनालाई बिष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिएका हुन्।
सरिपुलितले भने, “सञ्चारक जिल्लाको काबोद अब क्षेत्रमा रहेको फैजाबाद छात्रा विद्यालयका ७७ जना विद्यार्थी, सात जना शिक्षक, पाँच जना अभिभावक र एक जना कर्मचारीलाई बिष खुवाइएको हो। उनीहरूको अवस्था स्थिर छ।” अधिकारीका अनुसार घटनाबारे अनुसन्धान शुरुगरिएको छ।
यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानुनको कठघरामा ल्याउन आग्रह गरेकी छन्। अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको संख्या ८० भन्दा बढी रहेको उल्लेख गर्दै छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताए।