विराटनगर । कोशी सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत समाल्नुभएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार बजेट सार्वजनिक गर्नुभएको छ ।
बजेटमा पूजीगत १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख जुटाउने कोशी सरकारको लक्ष्य छ । राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख पुर्याउने योजना छ । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ । सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड आउने कोशी प्रदेशको लक्ष्य छ । विशेष अनुदानबाट ७६ करोड गरी ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार रुपैयाँ जुटाइएको छ ।
मुख्यमन्त्री कार्कीले बाँकी रकम चालु आर्थिक वर्षको नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रुपैयाँ जुटाइने बताउनुभएको छ ।
कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । त्यसबाट पूर्वाधार विकास कार्यक्रममा लागि प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।