संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।  बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संसद चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताउनु भयो । सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने बताउनु भयो । 

उहाँले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताउनु भयो । उहाँले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गर्नुभयो । 

बिहीवारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा मेला शुरु भएको हो । एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us