सिन्धुपाल्चोक । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको दुई आज वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए ।
बाढीले क्षति पुर्याएको दुई वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन् । उनीहरु सुरक्षित बसोबासको पर्खाइमा छन् । मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बन्नुभएकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घरसहित भएको थोरै जमिनसमेत बगर बनेपछि सुुकुम्बासी बन्नुभएको छ । सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दासमेत अस्थायी टहरामै बस्न बाध्य उहाँलाई दैनिक गुजारा चलाउनसमेत धौधौ परेको छ ।
हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती दुई वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउनुहुन्छ । बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन् ।
नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ । नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गर्नुभयो । उहाँले बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो सुनाउनुभयो ।
बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन् । मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ७१ लाभग्राहीमध्ये दुई सय ४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एक जनाले मात्र अन्तिम किस्ता पाएका छन् ।
यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन्। जिल्लामा बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका एक हजार पाँच सय ७९ लाभग्राहीमध्ये हालसम्म सात सय ७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र सात जनाले अन्तिम किस्ताबापत्को रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउनुहुन्छ । उहाँले गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताउनुभयो । घर बनाउन दिने रु पाँच लाख कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाले बताउनुभयो । पाँच लाख घर बनाउन अपुग भएको छ ।