काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग प्रालिका महाप्रवन्धक गोपिकृष्ण न्यौपानले पदबाट राजिनामा दिनुभएको छ । उहाँले हिजो एक विज्ञप्ती जारी गर्दै पदबाट राजिनामा दिनुभयो । उदोगलाई बन्द गराएर खानीतिर गिद्दे नजर लगाउने खेल भएको र उद्योगलाई सञ्चालन गर्न सरकारले समेत कुनै पहल नगरेका कारण पदबाट राजिनामा दिएको उहाँले जानकारी गराउनुभयो । उद्योग सञ्चालन गर्न आवश्यक रकमको माग गर्दा सरकारले वेवास्ता गरी उत्पादन कुनै ठोस योजना समेत सरकारको नभएको उहाँले दावी गर्नुभयो ।
उहाँले राजिनामा पत्रमा भन्नुभएको छ,
माननीय मन्त्रीज्यू,
उपरोक्त बिषयमा ३१ बर्ष पुराना जीर्ण मेसिनहरु मध्ये क्लिन सेल फेर्न, बर्नर फेर्न, जिसिटीको मर्मतसम्भार गर्न र क्याल्सनाइर प्रविधि जडान गरी हालको दैनिक ६ हजार बोरालाई वृद्धि गरी दैनिक १६ हजार ८ सय बोरा पुर्याउन मिति २०८०र२र२२ मा कुल बजेट मध्ये माननीय मन्त्रीज्यूबाट स्थलगत भ्रमण हुंदा प्रतिबद्धता गरिएको रु. १५ करोड मात्र भएपनि यही २०८० जेष्ठ मसान्तसम्म ऋण उपलब्ध गराउन माननीय मन्त्रीज्यू समक्ष अनुरोध गरेको व्यहोरा अवगत नै छ । सो १५ पृष्ठको अनुरोध पत्रमा मैले उद्योगमा गएर गरेका कामहरुको फेहरिस्त, उद्योगको भावी कार्ययोजना, आ. ब. २०७९/८० मा मलाई कार्य गर्न वाधा अवरोध परेका बिषयहरु र निश्कर्ष खण्डमा यदि उक्त समयभित्र न्यूनतम माग भएको रकम दिएर उत्पादन वृद्धि गर्न सहयोग नगर्ने हो भने म जस्तो प्रोफेसनल व्यक्तिलाई अल्मल्याएर नराख्न र आफू पनि मार्ग प्रशस्त गर्न तयार रहेको व्यहोरा उल्लेख गरेको थिएं ।
सो सम्बन्धमा माननीय मन्त्रीज्यूले उद्योगको संचालक समितिको बैठकमा रकम दिन नसकिने स्पष्ट अभिव्यक्ति दिएपछि आफू उक्त पदमा बसिरहेर यथास्थितिमा उद्योगलाई कार्ययोजना बमोजिमको स्पष्ट गति दिन नसक्ने भएकोले आजैका मितिदेखि लागू हुनेगरी यो राजिनामा स्वीकृतार्थ पेस गरेको व्यहोरा अनुरोध छ ।
मेरो २९ महिनाको कार्यकालको अवधिमा मलाई सहयोग गर्नुहुने मन्त्रालयका पदाधिकारीज्यूहरु, संचालक समितिका अध्यक्ष तथा सदस्यज्यूहरु, उद्योगका उच्च पदस्थ कर्मचारीहरु, सम्पूर्ण कर्मचारी मित्रहरु, उदयपुर जिल्लाबासीहरु, उद्योग बचाउ अभियानका अभियन्ताहरु, स्थानीय प्रशासनका प्रमुखज्यूहरु, स्थानीय निकायका पदाधिकारी तथा वडाध्यक्षहरु लगायत मेरा सबै शुभचिन्तक साथीहरु, मिडियाजगतमा काम गर्ने आम संचारकर्मी मित्रहरुमा उद्योग संचालनमा मलाई पुर्याउनु भएको उल्लेखनीय सहयोग प्रति हार्दिक धन्यवाद दिन चाहान्छु ।
अन्तमा, उद्योगको उज्ज्वल भविष्यको कामना गर्दछु ।
धन्यवाद ।
संलग्न:
१. मिति २०८०र२र२२ मा दिएको अल्टिमेटम सहितको अनुरोध पत्र ।
बोद्यार्थ:
१. श्रीमान अध्यक्षज्यू, संचालक समिति, उदयपुर सिमेन्ट उद्योग लि।
२. श्री प्रशासन महाशाखा, उदयपुर सिमेन्ट उद्योग लि। जलजले, उदयपुर ।
भवदीय,
गोपीकृष्ण न्यौपाने
मध्यपुर थिमी नगरपालिका वडा नं। ३
कौशलटार भक्तपुर
मिति २०८० साल असार ४ गते ।