काभ्रे । धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि नगरसभाको तेह्रौँ अधिवेशन बुधबार सम्पन्न गरेको छ। तोकिएको अवधिभित्र बजेट ल्याउने जिल्लाका १३ पालिका मध्ये धुलिखेल पहिलो हो। नगर सभामा आगामी वर्षका लागि १ अर्ब १५ करोड १५ लाख रकम विनियोजन भएको छ।
आर्थिक वर्ष २०८०/२०८१ का लागि नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख नीराजन जंगमले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास भएको छ।
त्यस्तै २०७९/०८० मा नगरपालिकाले गरेको गतिविधि अथार्त यथार्थ स्थिति समीक्षा नगर उपप्रमुख नीराजन जंगमले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पास भएको छ। नगर सभाको शून्य समयमा सभाका सदस्यहरुले उठाएका समग्र विषयवस्तुमाथि छलफल भएको थियो । नगरसभा सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले पास भएका विधेयकहरु प्रक्रियाबाट प्रमाणीकरण हुने बताउनुभयाे ।
नगर प्रमुख अशोक ब्याञ्जुले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्वास्थ्य सहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यासबोर्ड कार्यक्रम, रक्त अल्पता मुक्त नगर, दीर्घ रोगीहरुलाई घर घरमा औषधी पुर्याउने घोषणा गर्नुभयाे ।