काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार उच्च अंकको वृद्धि भएको छ । लघुवित्त र वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिंदा नेप्से उकालो लागेको हो ।
साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक (२.६७ प्रतिशत) ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ । सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको उच्च वृद्धिले उचालिएको नेप्से करिब ७ महिना यताकै उच्च विन्दुमा पुगेको हो ।
२०७९ पुस २६ गते २१९०.४२ को विन्दुमा बन्द भएको नेप्से घटेर १८०७ सम्म झरी पुन त्यही विन्दुमा पुग्न करिब ७ महिना लागेको हो । ३ असारसम्म लगातार १० कारोबार दिन बढेको नेप्से त्यसपछि ३ कारोबार दिन नेप्से घटेको थियो । तर, गत बिहीबारदेखि नै बढ्नु शुरु भएको नेप्से पछिल्लो ४ दिन लगातार बढ्दा १३५ अंक भन्दा माथिले वृद्धि भइसकेको छ ।
मंगलबार लघुवित्त उपसूचकमा उच्च वृद्धि हुँदा नेप्सेमा पनि साढे २ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो । लघुवित्त उपसूचक ८.९६ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा कारोबार भएका ५८ वटै लघुवित्त कम्पनीका शेयर मूल्य बढेको छ । जसमध्ये २३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।