काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको आज भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराएको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ ओभर ५ बलमा ९९ रनमा समेटियो । मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ १५ रनमा आउट भएका छन् ।
अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका अशोक धामीले ४ विकेट लिए । अभिषेक तिवारीले ३, सन्तोष यादवले २ र कृतिक कामतले एक विकेट लिए । त्यअसघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३३ ओभर ४ बलमा १ सय ८३ रनमा अलआउट भएको थियो । नेपालका अशोक धामीले सर्वाधिक ५२ रन बनाएका छन् ।
नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन जोडे । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । थाइल्यान्डलाई हराएको नेपाल र मलेसिया सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलका खेल भोलि हुनेछन् ।