समयमा पानी नपर्दा देशभर धान रोपाइँमा कमी

काठमाडौं । समयमा पानी नपर्दा देशभर धान रोपाइँमा कमी आएको छ ।  गत वर्षको असार १५ गतेसम्म धान रोपाइँ हुने क्षेत्रमध्ये २५ प्रतिशत रोपाइँ भएको थियो । तर यो वर्षको असार १५ गतेसम्म १२ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभएको छ । 

प्रवक्ता  सञ्जेलका अनुसार प्रि–मनसुन ढिला हुँदा पनि रोपाइँ कम भएको हो । यो वर्ष मलको कारण भने रोपाइँ रोकिने अवस्था छैन । कृषकले उन्नत जातको धानको बिउ लगाउने क्षेत्रफल बढ्दै गएको छ । यो वर्ष तराईमा सबैभन्दा कम क्षेत्रमा धान रोपाइँ भएको छ । 

गत वर्ष यो अवधिमा तराईमा ११ प्रतिशत धान रोपाइँ भएकोमा चालु वर्षमा तीन प्रतिशतमात्र धान रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको छ । यी दुई प्रदेशमा २३ प्रतिशत धान रोपाइँ भएको छ ।  गत वर्ष सुदूरपश्चिम प्रदेशमा यो अवधिमा ४३ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार कोसी प्रदेशमा गत वर्ष र यो वर्षको धान रोपाइँ औसत रहेको छ । 

गत वर्षको असार १५ गतेसम्म १८ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्षको यही अवधिमा १७ प्रतिशत धान रोपाइँ भएको छ । वाग्मती प्रदेशमा यो वर्ष पाँच प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्ष यो प्रदेशमा ३८ प्रतिशत धान रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा यो वर्ष सात प्रतिशत रोपाइँ भएको छ । . गत वर्षको यही अवधिमा यो प्रदेशमा ३४ प्रतिशत धान रोपाइँ भएको थियो । 

लुम्बिनी प्रदेशमा यस वर्ष ११ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा भने यो प्रदेशमा ३३ प्रतिशत धान रोपाइँ भएको थियो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us