काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ ।
बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाई थियो । मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न भूमि बैंक अतिआवश्यक रहेको बताउनु भयो ।
ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गर्नु भयो । उहाँले नेपालमा ५ वर्ष भित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने दाबी समेत गर्नु भयो । त्यसका लागि कृषिमा आधुनिक औंजारहरु, उन्नतस्तरको बीउविजन, मल, सिंचाईको प्रबन्ध गर्नुपर्ने ओलीले बताउनु भयो ।
अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिँचाईको अभाव नहुने दाबी समेत गर्नुभयो । उहाँले माटोलाई स्वस्थ राख्नका लागि प्राङगारिक मलको प्रयोगमा वृद्धि गर्दै लैजानुपर्ने बताउनु भयो ।