— राजीव झा
अहिले भारत विश्वकै एउटा ठूलो अर्थतन्त्र र विभिन्न हिसाबले विश्वको उदाउँदो शक्ति बनेको छ । घनिष्ठ मित्र र छिमेकीका नाताले नेपाल–भारतबीच सहकार्य एवं साझेदारी अपरिहार्य छ । नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई अबका दिनमा सामाजिक, सांस्कृतिक, धार्मिकसँगै आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्छ ।
हामीबीचको भौगोलिक खुल्ला सिमाना र वर्षौदेखिको ऐतिहासिक सम्बन्धका कारणले पनि भारत नेपालको अत्यन्तै नजिकको मित्र हो । नेपाल र भारतबीचको जुन किसिमको आर्थिक सम्बन्ध छ, त्यो व्यापार (ट्रेड) मा मात्रै सीमित छ । उद्योग स्तरमा पनि सम्बन्ध हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन । हाम्रो देशमा जबसम्म विदेशी लगानी अत्यधिक मात्रामा आउँदैन, तबसम्म हाम्रो देशको विकासले गति लिन सक्दैन । आजको एक्काईसौं शताब्दीमा सम्बन्ध भनेको बेटीरोटीको साथै व्यवसायिक सम्बन्ध पनि हो । व्यवसायिक सम्बन्धका कारण मात्रै एक अर्का देशबीच सम्बन्ध झन् प्रगाढ बन्न सक्छ ।
व्यवसायिक सम्बन्धले नै जनता–जनताको बीचमा अनि सरकार–सरकारको बीचमा पनि सम्बन्ध अझै प्रगाढ बनाउँछ । भारतसँग हाम्रो भाईचारा, दोस्ती, सद्भाव अनि पारिवारिक सम्बन्ध रहँदा रहँदैप नि उद्योगमा भारतको लगानी नेपालमा कम तर नेपाल र भारतको बीचमा व्यापारिक कारोबार अरु देशहरुको तुलनामा धेरै नै बढी छ । जबसम्म हामीले व्यापारिक साझेदारीलाई औद्योगिक साझेदारीको रुपमा रुपान्तरण गर्दैनौं तबसम्म हाम्रो देशको दिगो विकास सम्भव हुँदैन ।
आजको दिनमा भारतले विश्वव्यापी रुपमा आफ्नो लगानीलाई विस्तार गरिरहेको छ । नेपालका विभिन्न क्षेत्रहरु जस्तो पर्यटन, हाईड्रोपावर, कृषि, शिक्षा, स्वास्थ्य लगायतका अन्य थुप्रै क्षेत्रहरुमा प्रचुर सम्भावनाहरु छन् । तर यही सम्भावनाका कुराहरु हामीले हाम्रो विदेशी मित्रहरुलाई समेत बुझाउन सकेका छैनौं ।
जबसम्म भारत सरकारले नेपालमा लगानी गर्न आफूसहित विदेशी कम्पनीहरुलाई प्रोत्साहन गर्दैन तबसम्म नेपालले व्यक्तिगत पहलकदमी लिनु सार्थक हुँदैन । तर पनि भारतीय निजी क्षेत्रका लगानीकर्ताहरुलाई नेपालमा लगानी भित्र्याउन र विश्वासको वातावरण सिर्जना गर्न नेपालका नीजी क्षेत्रकाहरु रातदिन लागिपर्नु भएको छ र त्यो कदम सार्थक पनि बन्दै गएको छ । ठूलो लगानी बल्कमा भित्रियो भने सानोतिनो लगानी स्वतःस्फूर्त रुपमा भित्रिन्छ । त्यसैले विदेशी लगानी बल्कमा नेपालमा भित्रियाउन आवश्यक छ ।
‘सबैको साथ सबैको विकास सबैको विश्वास’ प्राप्त गर्ने भारत सरकारको चाहना र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न द्विदेशीय साझेदारी र सहकार्यको विकल्प छैन । सशक्त सहकार्यमुखी भारत–नेपाल सम्बन्ध दुई देशका जनताको हितमा छ । आपसी सम्बन्धलाई अझ प्रगाढ एवं परिणाममुखी तुल्याउनुपर्ने आजको अपरिहार्यता छ ।
विकास सहायता, सबल सम्पर्क सञ्जाल, विस्तारित भौतिक पूर्वाधार र आर्थिक सहयोगका परियोजनामा केन्द्रित रहेर भारतले नेपालसँगको सम्बन्धलाई अघि बढाउँदै आएको छ ।
नेपालको विकासका प्राथमिकतानुसार भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । नेपाललाई भारतले आफ्नो प्रमुख मित्र र विकासको साझेदारका रुपमा लिएकोले दुवै देशका विकास एवं सामाजिक–आर्थिक रुपान्तरणका समान चुनौती रहेकाले एकार्काका अनुभवबाट सिक्न आवश्यक छ ।
भारत सरकारको सहयोगमा स्थानीय समुदायका आवश्यकतानुसार सामुदायिक सम्पत्ति निर्माण तथा तल्लो तहमा सामाजिक–आर्थिक समृद्धि प्रवद्र्धन गर्न समुदाय विकासमा उच्च प्रभाव पार्ने परियोजना नेपालका ७७ वटै जिल्लामा कार्यान्वयन भइरहेको छ । तिनमा शिक्षा, स्वास्थ्य, सिँचाइ, पेयजल, संस्कृति र सम्पदा संरक्षण, सीप विकास, युवा प्रशिक्षण र कृषिलगायत विकास परियोजना समावेश गरिएको छ ।
भारतको यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीजी सन् २०१४ मा सरकारमा आएपछि १७ वर्षपछि नेपालमा उच्चस्तरीय भ्रमण गर्नुभएको र उहाँले सरकारको नेतृत्व गरेदेखि नै छिमेकीहरुको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप व्यवहार हुँदै आएको हो । भारतलाई उच्च आययुक्त देशका रुपमा विकास गर्न भारत सरकारको उद्देश्य पूरा गर्न नेपालको सहयोग पनि अत्यावश्यक हो । नेपालको अथाह जलसम्पदा स्वच्छ ऊर्जा उत्पादनका निम्ति प्रमुख स्रोत हुने र त्यसले नेपालको आर्थिक उन्नयनमा पनि असीमित रुपान्तरण गर्न सकिनेछ ।
नेपालमा भूकम्पका बेला होस् वा कोरोना सङ्क्रमणको कठिन अवस्था, भारतले नेपाललाई उच्च प्राथकितामा राखेर सहयोग गरेको छ र भविष्यमा पनि गर्नेमा हामी विश्वस्त छौं । नेपाल र भारतको सम्बन्ध आत्मीय रहेको तथा त्यसले दुई देशका जनताबीच शक्तिशाली सम्बन्धलाई अझ सुदृढ बनाएको छ । नेपालको दीर्घकालीन विकासका परियोजनामा भारतले सहकार्य गरेको र कैयौँ परियोजना सम्पन्न भएको तथा बाँकी परियोजना द्रुत गतिमा पूरा गर्न भारत प्रतिबद्ध रहेको हामी हेरिरहेका छौं ।
भारतले सन् २०२२ को अप्रिलदेखि सन् २०२३ को जनवरीसम्म भारत–नेपाल विकास साझेदारीअन्तर्गत ७५ परियोजना उद्घाटन गरिसकेको छ ।
उद्घाटन भएका परियोजनामा १७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना, ४८ वटा भूकम्पपछिको पुननिर्माण परियोजना ७७ जिल्लाका ३० विद्यालय र ४ जिल्लाका १४ वटा स्वास्थ्य पूर्वाधार रहेका छन् । भारतले वि.सं. २०७२ मा गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका शिक्षा तथा स्वास्थ्य परियोजनालाई १० करोड अमेरिकी डलरका दरले सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
भारतले नेपालको विकासका लागि जयनगर–कुर्ता रेलमार्ग उद्घाटन, १३२ केभीको सोलु कोरिडोर प्रसारण लाइन उद्घाटन, ७५ एम्बुलेन्स र १७ स्कुल बस सहयोग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई सहयोग, विपद् तथा राहत सामाग्री सहयोग, निर्वाचन सम्पन्नका लागि २०० सवारी साधन सहयोग, भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेवल पुलको शिलान्यास कार्य सम्पन्न गरेको छ ।
यसबाहेक भारतले दुई देशबीचको रक्षा सहकार्य, व्यापार साझेदारी र शैक्षिक आदानप्रदानमा समेत सहयोग एवम् सहकार्य गरेको छ । भारतले शैक्षिक आदानप्रदान कार्यक्रम मार्फत महात्मा गान्धी छात्रावृत्ति योजनाअन्तर्गत ५००, स्वर्णजयन्ती छात्रावृत्ति योजना २००, भारतमा अध्ययन गर्न जाने ७०० विद्यार्थीलाई छात्रावृत्ति, भारतको आर्मी पब्लीक स्कुल अध्ययनका लागि ३३ जनालाई छात्रावृत्ति प्रदान लगायतका सहयोग हुँदै आएको छ ।
यस्तै, कोभिडको समयमा भारतले कोरोना टेस्ट किट, माक्स, सेनिटाइजर, फेस शिल्डलगायतका स्वास्थ्य सामाग्रीसमेत हस्तान्तरण गरेको थियो । विश्वव्यापीकरण र आर्थिक उदारीकरणले अर्थ व्यवस्था जुन गतिले विस्तार भयो, यो नियन्त्रणात्मक व्यवस्थामा सम्भव थिएन । व्यापारसँगै मानिसको सहज आवागमन आर्थिक सामथ्र्यका आधारमा साना मानिएका देशका लागि थप अवसर हो । सिमाना नियन्त्रणबाट खुलापन संकुचित हुन्छ ।
अमेरिकाको दक्षिणी सिमानाका देशहरूले अमेरिकाजस्तो विशाल बजार भेट्टाएरै आर्थिक उन्नतिमा छलाङ मारेका छन् । यूरोपेली संघ देशबीचको आपसी खुलापनबाट लोभलाग्दो आर्थिक प्रगति सम्भव भएको छ । यो आबद्धता आज एकीकृत शासकीय संरचनाको बहसतर्फ अगाडि बढ्न थालेको छ । भारतसँग हाम्रो आर्थिक सम्बन्ध बढी आबद्ध हुनुमा भौगोलिक सहजतामात्र होइन, योसँगै खुला सिमाना पनि प्रमुख कारण हो ।
खुला सिमानाले हाम्रो समाजमा ठूलो सांस्कृतिक विविधता ल्याउन सक्छ । विश्वका धेरै देशहरूमा खुला सिमानाहरू छन् । सामान्यतया, खुला सिमानाले अन्तर्राष्ट्रिय व्यापारलाई पनि प्रोत्साहन गर्छ । खुला सिमानाका साथ आफ्ना वस्तुहरू ढुवानी गर्न कम्पनीहरूलाई धेरै सहज हुने भएकाले कम्पनीहरूलाई आफ्नो लक्षित बजार विस्तार गर्न अझ बढी आकर्षक बन्नेछ ।
(लेखक नेपाल–भारत खुला सीमा सम्वाद समूहका संयोजक हुन् ।)
साभार : मधेश दर्पण फिचर सेवा