बालुवाटार काण्डमा दोषी देखिएका सबैलाई कारबाही हुनुपर्छ: माधव नेपाल

पाल्पा । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले  ललिता निवास प्रकरणमा दोषी ठहरिए जोसुकैलाई पनि कारबाही हुनुपर्ने बताउनुभएको छ । 

पूर्वप्रधानमन्त्री नेपालले  पत्रकार महासंघ पाल्पाद्वारा मंगलबार बिहान आयोजित कार्यक्रममा सरकारी जग्गालाई व्यक्तिको नाममा पास गर्नेहरुलाई दण्ड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

आफू प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको उहाँको भनाई छ ।  ‘त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो, सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ’ उहाँले भन्नुभयो– ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।’

कसैलाई निर्णयकै आधारमा दोष लगाउनुभन्दा उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर कारबाही हुनुपर्ने उहाँको सुझाव छ । पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास मात्र नभई, नेपाल ट्रष्टका जग्गा लगायतमा पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । ‘भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनुहुँदैन’ उहाँले भन्नुभयो–  म र हाम्रो पार्टी भ्रष्टाचार विरोधी अभियानमा साथ दिन तयार छौं । यो काममा सरकारलाई पूर्ण साथ र समर्थन छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *