सिरहा । एक प्रहरी जवानलाई प्रहरी कार्यालयमै यातना दिइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा जवान अणु रायलाई हात पछाडि बाँधेर यातना दिइएको हो ।
सामाजिक सञ्जालमा प्रहरी जवान रायलाई हात पछाडिबाट बाँधिएको उनी रोइरहेको भिडिओमा सार्वजनिक भएको छ । भिडिओमा प्रहरी जवान रायलाई सादा पोशाकमा हात पछाडि बाँधिएको देखिन्छ । एक प्रहरी अधिकारीले ‘‘के खाएछस् ?’ भनेर सोधेको र बाँधिएका प्रहरी जवान रायले ‘केही खाको छैन’ भन्ने जवाफ दिएकाे भिडिओमा देखिन्छ ।
भिडिओमा प्रहरी जवान रायले ‘खोल्नुस्, यसरी यातना दिनुहुन्छ भने मर्छु’ भनेको दृश्य समेत देखिन्छ । स्रोतका अनुसार रायलाई हात बाँधेर प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएका हुन् ।प्रहरी जवान रायका भाइ राजनीशले ड्युटी अधिक गराएको र गुनासो गरेकै कारण यातना दिएको आरोप लगाएका छन् ।
सिरहाका प्रहरी प्रमुख एसपी टेकनन्द इवा लिम्बूले भने प्रहरी जवान रायलाई यातना नदिएको दाबी गर्नुभएको छ । ‘प्रहरी जवान राय चालक छन् । उनी लागुऔषध खायो कि के ? थाहा भएन’ उहाँले भन्नुभयो– तर, नशामा जथाभावी गरेपछि नियन्त्रणमा लिएर हतकडी लगाएर सोधपुछ मात्र गरिएको छ । यातना दिएको छैन ।’
एसपी लिम्बूले राय नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेको उल्लेख गर्नुभयो । ‘जिल्ला प्रहरी कार्यालयदेखि ५ सय मिटर टाढाबाट नियन्त्रणमा लियौं, उनलाई नियन्त्रणमा लिनै गाह्रो भएपछि हतकडीमात्र लगाएको थियो’ उहाँले भन्नुभयो – हतकडी लगाएर सोधपुछ गरिएको भिडिओ कसरी लिक भएको हो, थाहा भएन । यस विषयमा अनुसन्धान भइरहेको छ ।’